/ गुनासो व्यवस्थापन केन्द्र

गुनासो व्यवस्थापन केन्द्र

अध्यावधिक मिति २०८२ श्रावण ११ गते आइतबार

गुनासो व्यवस्थापन केन्द्र
सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रवाह गर्ने सबै प्रकृतिका सेवा र सोको प्रक्रिया एवं नतिजाका सम्बन्धमा सेवाग्राहीका गुनासाको सुनुवाइ तथा समाधान गर्न "गुनासो व्यवस्थापन केन्द्र" स्थापना गर्ने निर्णय भई माननीय मन्त्री भगवती न्यौपानेज्यूबाट मिति 2082।4।8 मा कार्य सञ्‍चालनको शुभारम्भ भएको छ . गुनासो व्यवस्थापन केन्द्रले मन्त्रालयको कार्यक्षेत्र र कार्यसम्पादनसँग सम्बन्धित विषयका गुनासाहरु व्यवस्थापन गर्न गुनासो व्यवस्थापन इकाईको रुपमा कार्य गर्नेछ । गुनासो व्यवस्थापनको कार्य गर्न उपसचिवको नेतृत्वमा अन्य कर्मचारी रहने गरी जिम्मेवारी तोकिएको छ । गुनासो व्यवस्थापन केन्द्रले गुनासाहरुको संकलन, बर्गीकरण र सम्बोधन गर्नेछ। गुनासो व्यवस्थापन केन्द्रमा रहने कर्मचारीहरुले सेवाग्राहीवाट प्राप्त गुनासाहरुको अध्ययन र बर्गिकरण गरी गुनासोको वर्गीकरण गरी कार्वाही गर्नुपर्ने गुनासाको सम्बोधनका लागि तत्काल प्रक्रिया अगाडि बढाउनेछ । कुनै निर्धारित विधि र प्रक्रिया पुरा गर्नु नपर्ने सामान्य प्रकृतिका सूचना वा जानकारी दिनुपर्ने वा स्पष्ट गर्नुपर्ने किसिमका गुनासा भए गुनासो सहजकर्ताले तत्कालै सम्बोधन गर्ने व्यवस्था मिलाइएको छ । गुनासो केन्द्रमा रहने कर्मचारीहरुले तत्कालै सम्बोधन गर्न नसक्ने प्रकारको गुनासो भए समाधानका लागि सम्बन्धित शाखामा पठाउने र सम्बन्धित शाखाले तत्काल सम्बोधन गर्न सम्भव हुने गुनासा शाखा प्रमुखबाट तत्कालै सम्बोधन हुनेछ । शाखा प्रमुखले तत्काल सम्बोधन गर्न नसक्ने गुनासा सम्बन्धित महाशाखा प्रमुखसँग छलफल गरी तीन दिनभित्र सम्बोधन गर्ने र सम्बन्धित महाशाखा प्रमुखबाट सम्बोधन हुन नसक्ने प्रकृतिका गुनासा महाशाखा प्रमुखले आवश्यकता अनुसार अन्य महाशाखा प्रमुख र मन्त्रालयका सचिवसँग समन्वय गरी सात दिनभित्र सम्बोधन हुनेछ । नीतिगत रुपमा सम्बोधन गर्नुपर्ने प्रकृतिका गुनासाहरु सम्बन्धित महाशाखा प्रमुखको प्रस्तावमा मन्त्रालयको उच्च व्यवस्थापन समूहको वैठकमा छलफल गरी निर्णय भए बमोजिम माननीय मन्त्रीस्तरीय निर्णयबाट एक महिनाभित्र सम्बोधन गरिने व्यवस्था मिलाइएको छ। सरोकारवाला तथा सेवाग्राहीले मन्त्रालयको हटलाइन टेलिफोन नम्बर, मोबाइल नम्बरः 9851277210, 9851277211, इमेल gunaso@mofaga.gov.np तथा सोही नम्बरको Whatsapp र Viber मार्फत गुनासो गर्न सकिनेछ । पत्राचारको लागि यस मन्त्रालयको गुनासो व्यवस्थापन केन्द्रमा पठाउन सकिनेछ।



मन्त्रालयका सुचनाहरु